प्रधानमन्त्री प्रचण्डले चौंथो पटक विश्वासको मत लिनुपर्ने


२०८१ बैशाख ३१ सोमबार ०६:५५ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक विश्वासको मत लिनुपर्ने भएको छ । आज (सोमबार) जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि प्रधानमन्त्री प्रचण्डले चौंथो पटक विश्वासको मत लिनु पर्ने भएको हो ।

सरकारमै रहेर वर्तमान सत्ता गठबन्धनका दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जसपा नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताएका छन् । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहानै राजीनामा दिइसकेका छन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्न लागिएको जसपाका नेता कार्कीले बताएका छन् । संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सरकार सहभागी नहुने (मन्त्री नबन्ने) तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएमा भने विश्वासको मत लिनु पर्दैन ।

प्रचण्डले पछिल्लो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसद ( प्रभु साह, अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका थिए । कांग्रेस, राप्रपा, लोसपा, जनमतलगायतले मत दिएका थिएनन् ।

प्रचण्डले त्यसअघि २६ पुस २०७९ मा पहिलो पटक र ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए । दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए । गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७