मधेस सरकार जोगाउन उपेन्द्रको अन्तिम प्रयास : मागे महन्थको साथ


२०८१ बैशाख ३१ सोमबार १०:५० बजे

काठमाडौं । एकाएक बदलिएको राजनीतिक घटनाक्रमसँगै संघीय सरकारबाट बाहिरिनु परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेश सरकार जोगाउन अन्तिम कसरतमा जुटेका छन् । अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष यादव सोमबार लोसपा अध्यक्ष ठाकुरलाई भेट्न निवास पुगेका थिए । अध्यक्ष ठाकुर र जसपा नेपालका अध्यक्ष यादवबीच सोमबार बिहान करिब आधा घण्टा कुराकानी भएको ठाकुरका स्वकीय सचिव सत्यन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । मधेस सरकारबाट आइतबार सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका थिए । जसपाको नेतृत्वमा मधेस सरकार छ । अध्यक्ष यादव मधेस सरकार आफ्नै पार्टीबाट निरन्तर रहोस् भन्ने चाहन्छन् ।

उनले सोही योजनाअनुसार अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ठाकुरले यसबारे छलफललाई जारी राखिने प्रतिक्रिया दिएका छन् । जसपा नेपालले संघीय सरकार छाडेको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

मधेसमा लोसपाका ९ मध्ये एक सांसद निलम्बनमा छन् । जसपाका १९ सांसदमध्ये कति नवगठित जनता समाजवादी पार्टीमा जान्छन् अहिले नै यकिन भइसकेको छैन । लोसपाको साथ लिन सके उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कांग्रेसलगायत दलसँग मिलेर मधेस सरकार बनाउन सक्छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७