‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स उडे मेयर बालेन


२०८१ जेठ १ मंगलबार ०७:३२ बजे

काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७७ औं श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा मंगलबार बिहान २ः१५ बजेको विमानबाट फेस्टिभलका लागि प्रस्थान गरेका हुन् ।

प्रमुख शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए ।

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’ को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनेछन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नेछन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले नेपालको राजधानी सहर काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७