उपेन्द्रजीको पार्टी फुटाइयो, राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल


२०८१ जेठ १ मंगलबार ०७:४७ बजे

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, जसपालाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) बाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले भने, ‘समाजवादी मोर्चाको महत्वपूर्ण घटक रहेको जनता समाजवादी पार्टी विभाजित भयो, विभाजित गरियो । विभाजित भएको मात्रै होइन, गरिएको मात्रै होइन । सरकारबाट पनि उसलाई निकालियो ।’

उनले उपेन्द्र यादवले राजनीनामा नदिएको भए सरकारबाट गलहत्याएर निकालिने दाबी गरे । ‘मुन्ट्याउने काम मात्रै भएन, यपद उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो । काम छँदाको भाँडो काम नहुँदा भाँडो जस्तै उपेन्द्र यादवको अवस्था हामी देखिरहेका छौँ,’ उनले भने । ‘केपी ओलीको प्रतिगमनविरुद्ध हामी सँगसँगै अघि बढेको त्यो पार्टी, निर्वाचनपछि बनेको गठबनधनको महत्वपूर्ण घटक भएको त्यो पार्टी हो,’ उनले उपेन्द्रबारे केन्द्रीय कमिटी बैठकमा भनेका छन् ।

‘हाम्रो पार्टी विभाजन गर्ने हल्लाले आत्तियौं’
अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्न लागेको चर्चापछि आत्तिएको बताएका । केन्द्रीय कमिटी बैठकमा उनले जनता समाजवादी पार्टी विभाजन भएको र आफ्नो पार्टी पनि विभाजन गर्ने चर्चा चलेको बताए ।

‘हाम्रो पार्टीको पनि विभाजनको हल्ला चले । अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको भन्ने चर्चा पनि चल्यो । ६ जना जाँदैछन् भन्ने हल्ला चले, चलाइए’, उनले भने, ‘हामी पनि आत्तियौं । के हो वास्तविकता । बसेर फेरि छलफल गर्‍याै‌ । छलफल गर्दा जति गणना गर्दा पनि देखिँदैन ।’ नेपालले पार्टीमा असन्तुष्टि भए छलफल गरेर टुंगो लगाउन सकिने बताए । ‘असन्तुष्टिलाई राम्रो ढंगले प्रष्ट पार्ने । सन्तुष्ट त कसरी पार्न सकिएला र’, उनले भने, ‘एकछिनका लागि चित्त बुझाउने र विश्वास दिलाउने हाम्रो कोशिस हुनु पर्दछ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७