बूढीतोला सडक भासिएको १० महिनापछि मर्मत गरिँदै


२०८१ जेठ २ बुधबार ११:०५ बजे

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको जानकारी दिए । गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो । सम्झौताअनुसार सडकमाथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुनेगरी निर्माण गरिने इन्जिनीयर सिग्देल बताए ।

हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । राजमार्गको भ्यागुतेपानी, बूढीतोलालगायतका क्षेत्रमा वर्षातका बेला पटक–पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ । सोही सडकखण्डको भ्यागुतेपानीमा एक सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७