सुदूरपश्चिममा एमालेले सोडारीलाई विश्वासको मत दिने, सरकारमा नजाने


२०८१ जेठ २ बुधबार ०७:४१ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । आज (बुधबार) बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले बिहीवार विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिए पनि एमाले तत्काल भने सरकारमा सहभागी नहुने जनाएको छ । यसभन्दा अघि पटक–पटक सोडारीले विश्वासको मत लिन खोजेपछि एमालेले आनाकानी गरेपछि प्रदेशसभा बैठक स्थगित हुँदै आएको थियो । २१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो ।

वैशाख ६ गते एमाले, माओवादी नेकपा एकीकृत समाजवादी रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जेठ ४ गते सम्म उनले विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने करिब पक्का जस्तै भएको छ । सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् ।

नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रञ्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन् । सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुने छ । अहिले सम्म सोडारी सहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएको थिए । ती बाहेकका माओवादी र एमाले अहिले पनि सरकार बाहिर छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७