कश्मिरमा तीन महिनादेखि बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुई जना पक्राउ


२०८१ जेठ २ बुधबार ०७:२५ बजे

काठमाडौँ । भारतको कश्मिर पुर्‍याएर तीन महिनादेखि बन्धक बनाएर राखिएका ३६ नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको हो ।

नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमीक दिने प्रलोभनमा कश्मिर पुर्‍याइ बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमीक समेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरुले बताएका छन् ।

मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्न भन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको सुनाए । उनका अनुसार खाना पनि राम्रोसँग खान दिदैनथे । नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको उनले बताए ।

त्यस्तै धनुषाका रञ्जित चौधरीले काम लगाउनेले मार्नेसम्मको धम्की दिएको बताएका छन् । काममा भनेको नमाने आतंकवादी भनेर पक्राउ गर्न लगाउने धम्की दिने गरेको उनले सुनाए । झण्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मुकश्मिर पुलि, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरुलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । घटनामा संलग्न दुई जना आरोपीलाई पक्राउ गरिएको बताइएको छ ।

उनीहरुलाई २ वटा कोठामा ताला लगाएर राखिएको थियो । बसेकै कोठामा दिसा पिसाव गर्नुपर्ने, दुई समय खान पनि नदिने र कश्मिर पुगेको दिनदेखि नै नुहाउन समेत नदिइएको उनीहरुले बताए । सोही समूहबाट भागेर नेपाल आएका पीडित युवकले नेपालमा कुनै पनि नेताले सहयोग नगरेको गुनासो गरे । सुरुमा चार जना नेपालीलाई लिएर गएको र पछि सात जना भागेको उनले सुनाए ।

ठेकेदारको बन्धनबाट भागेका सात जनामध्ये एक जनाले आफूले भोगेका यातनाहरुबारे आफन्तहरुलाई खबर गरेपछि सामाजिक अभियन्ता सरोज रायले उद्धारको लागि पहल सुरु गरेका थिए । सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए । उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ । घटनामा संलग्न मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरिएको छ भने जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन् । उनीहरुबिरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७