प्रचण्ड–ओलीसँगको छलफलपछि रवि : आरोप लागिसकेपछि मैले संसदमा बोल्न पाउनु पर्छ


२०८१ जेठ २ बुधबार ०७:४३ बजे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका विषयमा संसदमा बोल्न पाउनु पर्ने बताएका छन् । आज (बुधबार) सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि लामिछानेले संसदमा आफूले बोल्न पाउनु पर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैको भएको भन्दै संसदमा आफूमाथि लागेको आरोपको विषयमा सदनबाटै स्पष्ट पार्न पाउनु पर्ने अडान दोहोर्‍याए । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनले बताएका छन् । लामिछानले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको बताए ।

कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए । एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने विषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।

गृहमन्त्री लामिछाने बिहीबार संसदको रोष्ट्रम जाने कार्यसूची
भोलि (बिहीबार) उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको रोष्ट्रममा पुगेर ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सामान्यतया जुन मन्त्रीले जुन विधेयक संसदमा दर्ता गरेको हो, उसैले प्रस्ताव गर्ने परम्परा रहेका कारण गृहमन्त्रीले नै प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ । यसअघि चैत २ र २७ गते कांग्रेसले यही प्रस्ताव प्रस्तुत गर्न रोकेको थियो । कांग्रेसको अवरोध हटाउने प्रयास जारी रहेका बेला संसद् सचिवालयले जेठ १५ गतेसम्मको कार्यसूची सार्वजनिक गरेको हो। जसअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जेठ ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रमका दफामाथि छलफल हुने र ९ गते पास गर्ने कार्यसूची छ ।

नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिइसकेपछि ९ गते निर्णयार्थ प्रस्तुत गर्ने तयारी सरकारको छ । यद्यपि हिजोको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले अघि बढ्न सकेको छैन ।

नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेकै समयमा समेत शून्य समय, विशेष समयसँगै केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने विषय पनि क्यालेण्डरमा समेटिएको छ । जसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७