गगन थापाप्रति खनिए ओली : संसद बैठकमा उदण्डता देखाए, सभामुखप्रति अशिष्ट बने


२०८१ जेठ २ बुधबार ०६:५३ बजे

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको आरोप लगाएका हुन् । उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताए । उनले नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भनेर जवाफ समेत माग गरे ।

कांग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गरेका छन् । उनले नेपाली काँग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधी करार गर्न लागेको बताए । भ्रष्टाचारमा दोषी करार भएका कांग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानविन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै काँग्रेसलाई शरम हुनुपर्ने उनले बताए ।

उनले कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी नभएको बताए । उनले संसद बैठक रोक्नुपर्ने आवश्यकता नरहेको भन्दै कांग्रेसले बैठक रोके नमान्ने पनि बताए । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी पनि गरे । कांग्रेसको प्रधानमन्त्री अफर त्यागेपछि लामिछानेलाई आरोपित गर्ने प्रयास गरिएको उनको भनाई छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७