राजधानीका यी रुटमा थपिए ५० सिटका १७ नयाँ बस, कोचिएर यात्रा गर्ने दिन गए


२९ जेष्ठ २०७५, मंगलवार
New Bus

काठमाडौं, २९ जेठ । राजधानीमा सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने वाध्यता झेल्दै आएका सर्वसाधरणले अब समस्याबाट मुक्ति पाउने भएका छन् । असार पहिलो हप्तादेखि गोंगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमताका १७ वटा नयाँ र ठूला बस सञ्चालन हुने भएका छन् ।New Bus

सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो । बस सञ्चालनसँगै नयाँ बसपार्क, गोंगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ ।

सामाखुशी यातायात व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले सात करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए । ‘असार पहिलो हप्ता १० बस र त्यसपछि सात बस सञ्चालनमा ल्याउँछौ’, उनले भने । सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिले जनाएको छ ।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले एक करोड ९० लाख अनुदान दिएको छ । सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल(रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय उपत्यकामा सवारीसाधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारीसाधन तथा टर्सरी रुटमा साना सवारीसाधन सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७