कांग्रेसले नमाने पनि नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गराएरै छाड्छौं : ओली

‘एमाले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पार्टी हो’


४ जेष्ठ २०८१, शुक्रबार
KP Oli2

पर्सा । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले नमाने पनि सरकारले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गरिने बताएका छन् । वीरगञ्जमा आज (शुक्रबार) आयोजित नेकपा एमाले पर्साको नव निर्वाचित जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सहमतिमा आएर कांग्रेस मान्छ भने मान्छ । मान्दैन भने हामीले नीति तथा कार्यक्रम जसरी हुन्छ पारित गरेर बजेट संसदमा पेस गरेरै छाड्छौं ।’

उनले सरकारबाट बाहिरिनु परेको पीडाको कुण्ठामा कांग्रेस आफैं रुमल्लिएको र देशलाई पनि अल्झाएर राखेको आरोप लगाएका छन् । उनले गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेलई एमालेले बोक्नु पर्ने कुनै आवश्यक नभएको भन्दै ओलीले एमाले भ्रष्टचारीहरूको अखडा नभएको दावी गरे ।

एमालेले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने पार्टी भएको ओलीको भनाइ थियो । उनले भने, ‘सरकारबाट बाहिरिनु पर्दा कांग्रेसले ‘खिसियाइ बिल्ली खम्बा नोचे’ भनेझैं संसदमा वितण्डा मच्चाइरहेको छ । खाँबो चिथोर्ने कुरा बिरालोलाई सुहाउँछ, कांग्रेसलाई सुहाउँदैन । कांग्रेसलाई मेरो यही आग्रह छ ।’

बुधबार संसद बैठकमा कांग्रेसका सांसदहरू आफू बसेकै ठाँउमा हुल बाँधी आएर हातपातै गर्ने जस्तो गर्न थालेपछि आफूले त्यसो नगर्न आग्रह गर्दा अझ उग्रता प्रदर्शन गरेको अध्यक्ष ओलीले बताए । त्यसपछि कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेर केपी ओलीले वातावरण बिगारेको भनेर झुट र बेइमानी कुरा गरेको उनले आरोप लगाए । उनले एमाले पार्टीमा अब गुटबन्दी नचल्ने पनि दावी गरेका छन् । ओलीले भने, ‘एमाले मिसन ८४ को नारा लिएर अगाडि बढेको छ । त्यसका कारण विपक्षीसँग लड्ने बेलामा यदि पार्टीभत्र कसैले गुटबन्दी ग¥यो भने सोझै कारबाही हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७