गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल


५ जेष्ठ २०८१, शनिबार
Gautam.jpg 1

काठमाडौं । भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल शुरु भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतको नयाँ प्रशिक्षकको आवेदन अहिले खुला गरेको बेला बोर्डले गम्भीरप्रति चासो देखाएको क्रिकइन्फोले उल्लेख गरेको छ । हालका प्रशिक्षक राहुल द्रविडको कार्यकाल आगामी टी–२० विश्वकपपछि समाप्त हुने भएकाले बोर्डले २७ मे सम्मको डेडलाइन दिएर नयाँ प्रशिक्षकक आवेदन खोलेको छ ।

गम्भीर हाल आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर रहेका छन्। उनको मेन्टरसिपमा कोलकोताले उत्कृष्ट प्रदर्शन गरिरहेको बेला उनलाई राष्टिय टिमको प्रशिक्षक बनाउने पहल शुरु भएको विश्लेषण गरिएको छ । अब बोर्डले आइपिएल सकिएपछि गम्भीरसँग छलफल गर्ने रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि, भारतको मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने अन्तिम म्याद आईपीएल फाइनलको एक दिनपछि मे २७ सम्म रहेको छ । यसअघि राहुल द्रविडले अर्को कार्यकाल प्रशिक्षक नबन्ने बोर्डलाई जानकारी गराइसकेका छन् ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरको कोचिङको अनुभव नभएको भए पनि उनले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनी आइपिएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सका मेन्टर थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो । गम्भीर भारतको २००७ मा टी–२० विश्वकप विजेता टिम र २०११ मा एकदिवसीय विश्वकप विजेता टिमको महत्वपूर्ण सदस्य थिए । उनले आफ्नो कप्तानमा कोलकोतालाई दुई पटक आइपिएल समेत जिताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७