संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख


२०८१ जेठ ५ शनिबार १०:२८ बजे

काठमाडौं । सभामुखसहित शीर्ष नेताको बैठक आज (शनिबार) दिउँसो बस्ने भएको छ । संसदको अवरोध अन्त्य गर्न विभिन्न चरणमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भए पनि निष्कर्षविहीन भएपछि आज पुनः सभामुख देवराज घिमिरेले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सदन खुलाउने विषयमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओलीसँग संयुक्त छलफल गर्न लागेका हुन् । समय व्यवस्थापन भए प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सभामुखले छलफल गर्ने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ । बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपनि लामिछाने बोल्न पाएनन् ।

कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन् । शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको थियो । संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि शुक्रबार बोलाइएको प्रतिनिधि सभा बैठक आइतबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ । संसदीय छानबिन समिति बनाउने विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७