ढुक्क प्रधानमन्त्री : जति पटक लिनु परे पनि विश्वासको मत पाउँछु


२०८१ जेठ ५ शनिबार ०७:३२ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौंथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् । आज (शनिबार) नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले जेठको ७ गते आफूले चौंथो पटक विश्वासको मत लिन लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिको परिस्थितिलाई आफूले कहालीलाग्दो अवस्थामा नदेखेको समेत जिकिर गरेका छन् । उनले जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे । उनले विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न आग्रह गरे ।

उनले भने, ‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौंथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

प्रधानमन्त्री प्रचण्डले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतवार बिहानसम्म सहज रुपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताएका छन् । उनले आफूले संसदको अवरुद्ध हटाउन केही दिनयता छलफल गरिरहेको बताउँदै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए ।

उनले संसद सहज रुपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमा अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्ततु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताए । उनले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्यता मिलाइ ल्याउने गरी तयारी भइरहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७