त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन


२०८१ जेठ ५ शनिबार १०:५० बजे

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको बेलिब्रिज आजदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । बेलिब्रिज सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ ।

यो करिडोरले भारतको रुपैडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्छ । यस सडकलाई राष्ट्रिय महत्वको सडकको रूपमा लिइएको छ । करिडोरअन्तर्गत तल्नुबगर, छलगार्ड र खदाङमा पक्की पुल निर्माण शुरु भएको छ । भेरी करिडोर कार्यालय जाजरकोटका नायब सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रवार भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको बताए । ‘बेलिब्रिज’ ले २५ टनसम्म भार थेग्न सक्ने उनले जानकारी दिए ।

तीन वर्षअघि सडक डिभिजन कार्यालय चौरजहारीले बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि ‘बेलिब्रिज’ सञ्चालनमा आएको हो । भेरी करिडोर कार्यालयकाअनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्डभित्रका ५६ किलोमिटर सडकमा अहिले काम भइरहेको छ । ६२ किलोमिटर सडक फराकिलो बनाउने काम शुरु गरिएको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७