विश्वकपको तयारीमा जुटे सन्दीप, निरीक्षणमा पुगे पारस


२०८१ जेठ ५ शनिबार ०७:३० बजे

काठमाडौं । बलात्कार मुद्दामा सफाई पाएका सन्दीप लामिछाने विश्वकप क्रिकेटको तयारीमा जुटेका छन् । अमेरिका र वेष्ट इण्डिजमा जुन २ बाट हुने टी–२० विश्वकप क्रिकेटमा सन्दीपलाई सहभागी गराउने प्रक्रिया नेपाल क्रिकेट संघ (क्यान) ले अगाडि बढाइसकेको छ ।

सफाइपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरिसकेको छ । केही दिनमा उनलाई अमेरिका पठाउने तयारी पनि भइरहेको क्यानले जानकारी दिएको छ । अहिले सन्दीप कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् । नेटमा बलिङ अभ्यास गरिरहेका सन्दीपलाई ब्याटर लोकेश बमले सघाइरहेका छन् ।

यस्तै विनोद भण्डारी, शरद भेषावकर, मौसम ढकालले पनि उपस्थित भएर सन्दीपलाई सघाइरहेका छन् । यसैबीचमा शनिबार क्यानका सचिव पारस खड्का सन्दीपको तयारी हेर्न पुगेका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका खड्का अभ्यासस्थलमा पुगेर बलिङ टिप्सहरू दिएका छन् ।

सन्दीपले पछिल्लो पटक गत नोभेम्बरमा नेपालका लागि खेलेका थिए । त्यसबेला नेपालले टी–२० विश्वकपको एसियाली छनोट खेलेको थियो । सेमिफाइनलमा यूएईलाई हराएर नेपालले विश्वकप यात्रा तय गरेको थियो । फाइनलमा ओमानविरुद्ध सन्दीपले अन्तिम ओभरमा केवल ७ रन दिएपछि खेल सुपर ओभरमा पुगेको थियो । आसन्न विश्वकपको पहिलो खेल नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७