बालुवाटारमा सत्तारुढ दल र कांग्रेस नेताबीच छलफल जारी


२०८१ जेठ ५ शनिबार ०७:०६ बजे

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल शुुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताबीच छलफल जारी छ ।

बालुवाटारमा करिब ५ बजेबाट छलफल शुरु भएको हो । छलफलमा कांग्रेस सभापतिसँगै महामन्त्री गगनकुमार थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार सहभागी छन् । लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ । यसअघि कांग्रेसको माग र संसदको गतिरोधबारे प्रधानमन्त्रीले मात्र कांग्रेससँग छलफल गर्दै आएका थिए । शनिबार पहिलो पटक यो विषयमा सत्तारुढ दल र कांग्रेसबीच छलफल भएको हो ।

यसअघि बिहीबार दलहरू सहमति नजिक पुगेर पनि पछि हटेका थिए । जसले गर्दा प्रतिनिधिसभा बैठकमा धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । शुक्रबारको बैठक भने सूचना टाँसेर स्थगित भएको थियो । अब आइतबारका लागि संसद बैठक बोलाइएको छ । त्यसअघि नै सहमति जुटाउने गरी सत्ता पक्ष र प्रतिपक्षीबीच छलफल भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७