प्रधानमन्त्रीलाई सभामुखको सुझाव : कति चरण बसे हुन्छ भोलि ११ बजेअघि सहमति गर्नुस्


२०८१ जेठ ५ शनिबार ०७:२९ बजे

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद सञ्चालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिएका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेर चाँडोभन्दा चाँडो सहमतिमा पुग्न आग्रह गरेका छन् ।

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभामुख घिमिरेले भोलि (आइतबार) बिहान ११ बजेको बैठकअघि नै सहमतिमा पुग्न प्रधानमन्त्रीलाई भनेका हुन् । भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए । सभामुख घिमिरेको सचिवालयका अनुसार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कति चरणमा बसेर हुन्छ सहमति गर्नुपर्ने आवश्यकता रहेको बताएका घिमिरेले बताएका छन् ।

सभामुखले प्रधानमन्त्री र ओलीलाई दिएका तीन सन्देश

१) प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद् सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।

२) नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन ।

३) सार्वजनिक सञ्चार माध्यममा आए जस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ । सभामुखको सन्देशपछि प्रधानमन्त्रीले पुनः कांग्रेससँग बसेर सहमति गर्ने बताएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७