सहकारी प्रकरण : सत्तारुढ दल र कांग्रेसबीच संसदीय समिति बनाउन सहमति


२०८१ जेठ ५ शनिबार ०७:४७ बजे

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए ।

समितिको टीओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने समेत शीर्ष नेताहरुले सहमति भएको छ । कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहने छन् । उक्त कार्यदलले भोलि टीओआर बनाउनेछ । संसदको अवरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए । उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिएका थिए ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आजै बिहान पनि कांग्रेससँग छलफल गरेका थिए । कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरुद्ध बनाउँछै आएको छ । सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७