प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


२०८१ जेठ ६ आइतबार ०८:०७ बजे

काठमाडौं । प्रतिनिधिसभाको वैठक आज (आइतबार) बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने पनि कार्यसूची रहेको छ । त्यस्तै सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूचीसमेत छ ।

आइतबार प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची पनि छ ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनु पर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ । समितिको कार्यादेश तय गर्न संघीय मामिला तथा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा समिति पनि बनेको छ ।

समितिमा कांग्रेसबाट जीवन परियार, एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका सांसद शिशिर खनाल सदस्य छन् । समितिको बैठक बसेर कार्यादेशबारे टुंगो लाग्नेछ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले अघि सारेको माग सम्बोधन भएकाले आज संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने विश्वास लिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७