यसरी भएको थियो ट्राफिक जवान घिमिरेको हत्या, ‘केटी साथी’ लाई आँखा झिम्क्याएको निहुँ

१३ वर्षीय नाबालकसहित सात जना पक्राउ


६ जेष्ठ २०८१, आईतवार
traffic police 1

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

खोटाङ मजुवागढी नगरपालिका–१ घर भई हाल काठमाडौं टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय जवान घिमिरेको गत शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शव तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकीनाग टोलस्थित निर्माणाधीन दुई तले घरको भुइँ तलामा फेला परेको थियो । त्यो स्थानलाई लागुऔषध प्रयोगकर्ताले आफ्नो आश्रयस्थल बनाएका थिए ।

पक्राउ परेकाहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका–३ घर भई बालाजु–जरंखु, मनमैजुलगायत स्थानका सडकपेटीमा बस्दै आएकी २१ वर्षीया वसन्धुरा कार्की, भक्तपुर चाँगुनारायण–१ घर भई सोही स्थानमा सडकपेटीमा बस्दै आएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भई सोही स्थानमा बस्दै आएकी १८ वर्षीया अन्जली श्रेष्ठ, आँधीखोला–३ कै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती गाउँपालिका–४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन् ।

यस्तै, अन्य पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती घर भई बालाजु, जरंखु, मनमैजुलगायतका स्थानमा सडकपेटीमै बस्दै आएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर घर भई सोही ठाउँका सडकपेटीमा बस्दै आएका १३ वर्षीय एक नाबालक रहेका छन् । काठमाडौं–१६ स्थित अस्टनारायण हलपछाडि बाइस धारा जंगलबाट भाग्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले बताए । उनीहरूलाई पक्राउ गर्ने क्रममा एक राउन्ड हवाई फायर गरिएको रजौरेले जानकारी दिए ।

कसरी भयो घिमिरेको हत्या ?
एसएसपी रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएको पाइएको छ । त्यसपछि घिमिरे घर जानुअघि खाजा–नास्ता खान तारकेश्वर नगरपालिका–११ स्थित एक खाजा घरमा पुगेको सिसिटिभी फुटेज समेतले देखाएको छ । घिमिरे खाजा खाइरहेको बेलामा सचिन परियार र अन्जली श्रेष्ठ त्यहाँ पुगेका थिए । घिमिरे र सचिनको पुरानो चिनजान थियो । अन्जली समेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए ।

‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर (घटनास्थलसम्म) मोटरसाइकलमा पुर्‍याई दिन आग्रह गरे,’ रजौरेले भने, ‘घिमिरेले दुबै जनालाई मोटरसाइकलमा राखेर पुर्‍याइ दिए ।’ ‘त्यहीबाट उनीहरूबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले भनेको छ । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पु¥याइदिन युवराजलाई अनुरोध गरेका थिए । उनीहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएको पाइएको छ’, रजौरेले भने । अन्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे । युवराजले सहयोग गरिदिए ।

सचिन र अन्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे । हेल्मेटले उनको टाउकोमा प्रहार गरे । लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालक समेत एक भएर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट, ढुंगालगायतले हिर्काएर घिमिरेको हत्या गरे । हत्या गरेपछि घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए । घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके । युवराजको जुत्ता जलाएर भागेका उनीहरू जरखुतर्फ गएर सडकपेटीमा सुतेको रजौरेले बताए । युवराजले मदिरा खाए-नखाएको परीक्षण भइनसकेको बताइएको छ । हत्याको पूर्वयोजना भने नदेखिएको उनको भनाइ छ ।

‘पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको हो । अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा थिए’, रजौरेले भने । महिलासँग भने युवराजको चिनजान नभएको प्रारम्भिक अनुसन्धान देखिएको छ । हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताए । घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायत कारण हुन सक्ने एसएसपी रजौरेले बताए । पक्राउ परेकाहरू लागुऔषध प्रयोगकर्ता हुन् । बसपार्क क्षेत्रमा कार्यरत रहँदा घिमिरेको सचिनसँग चिनजान थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७