चीनसँग जोडिएको संखुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने


२०८१ जेठ ९ बुधबार ०७:१३ बजे

संखुवासभा । चीनसँग जोडिएको संखुवासभाको किमाथाङ्का नाका आउँदो शनिवारदेखि खुला हुने भएको छ । उत्तरी क्षेत्र चीनसँगको किमाथाङ्का नाका यही जेठ १२ गतेदेखि खुल्ने भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले पनि किमाथाङ्का नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गरे ।

सरकारको पटक–पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो । कोरोना संक्रमण जोखिमका कारण चीन सरकारले २०७६ साल माघ ५ गतेदेखि किमाथाङ्का नाका बन्द गरेको थियो । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए ।

विराटनगरको रानी भन्सार नाका हुँदै संखुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ । उत्तरी क्षेत्रमा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारीमा रहेको छ ।

भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरणको काम सकिएको अध्यक्ष भोटेले बताए । किमाथाङ्का बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो । झण्डै ६ हजार संख्यामा बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७