छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै, जुट्ला सहमति ?


१० जेष्ठ २०८१, बिहीबार
sahakari karyadal 1

काठमाडौं । सहकारीको रकम अपचलनको छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ । कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

यसअघि बसेका तीन वटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन् । बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र रास्वपा सांसद शिशिर खनाल सदस्य छन् । कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुँदै आएका छन् । कांग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन् । प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ । त्यसअघि सहमति खोज्न सभामुख देवराज घिमिरेले दलहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७