सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झन बढ्छ : मेयर शाह


१० जेष्ठ २०८१, बिहीबार
balen 1

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मेयर शाहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनु पर्ने बताए । उनले पुरानो शैलीमा सम्पदाहरूको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए । महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

मेयर शाहले भने, ‘महाबिहार बनाउँदा वडाध्यक्षहरूलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की भन्ने जस्तो लाग्दोरहेछ । म सधैँ भन्छु, एकै पटक सबै माग्नुस् । एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो । सत्तल पनि पुरानो शैलीमा बन्नु पर्छ । हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो । हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ । जीवनशैली पनि बढ्छ । सबैको इज्जत पनि बढ्छ । त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’

उनले सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरूसँग आग्रह गरे । महानगरपालिकाले सम्पदा पुनर्निर्माणको लागि एकै पटक सबै बजेट माग्दा दिँदैन की भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनर्निर्माणका कामहरु एकै पटकमा सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७