शेखरको प्रश्न : दुईटा पासपोर्ट भएका गृहमन्त्री र संसदका महासचिवलाई कानुन लाग्दैन ?

‘गृहमन्त्री भएका नाताले सहकारी ठगीबाट उहाँलाई उन्मुक्ति दिने ?’


१० जेष्ठ २०८१, बिहीबार
shekharkoiralabrt

मोरङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् । अहिले ट्रेलरका रूपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेको उनको भनाइ थियो ।

‘यो देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोज्दैछ, जबसम्म यो कुरा हामी बुझ्दैनौं आज यसलाई समायो, भोलि उलाई भनेर रमाइरहेका हुन्छौं,’ कोइरालाले विराटनगरमा बिहीबार भएको कार्यक्रममा भने, ‘यो देशमा के भइरहेको छ ? सरकार छ कि छैन ? कसरी सरकार सञ्चालन भइरहेको छ ? यो अत्यन्त गम्भीर विषय भएर गएको छ ।’

सिरोहियाले नागरिकताका सन्दर्भमा कुनै गलत भएको पाइएमा दण्ड पाउनुपर्ने पनि उनले बताएका छन् । ‘तर व्यक्ति सिरोहिया केही पनि होइन । कान्तिपुरलाई जसरी आक्रमण गरेको छ त्यो घटनापछि म मिडियाहरू नजिकबाट फलो गरिरहेको छु, कहाँ के भइरहेको छ र कसले के भनिरहेको छ भनेर,’ उनले भने ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको दुईटा पासपोर्ट रहेको विषयका कसैले आवाज नउठाएको पनि बताए । ‘गृहमन्त्री रवि लामिछानेको दुईटा पासपोर्ट हुँदाखेरि र संसदका महासचिवको दुईटा पासपोर्ट हुँदा तपाईंहरू केही लेखिरहनु भएको छैन,’ पत्रकारहरूतर्फ लक्षित गर्दै कोइरालाले भने, ‘देशमा कानून छ । तर उहाँहरूलाई केही हुँदैन । त्यो कानून के गृहमन्त्रीलाई र संसद महासचिवलाई लाग्दैन ?’

उनले गृहमन्त्री लामिछानेमाथि सहकारीको बचत अपचलनको आरोप समेत लागेको बताए । ‘गृहमन्त्री भएका नाताले सहकारी ठगीबाट उहाँलाई उन्मुक्ति दिने ? यो हुन सक्दैन,’ उनले भने, ‘सहकारी ठगीमा उहाँ संलग्न हुनुहुन्छ र उहाँ उन्मुक्ति पाउन सक्नु हुन्न भन्ने कांग्रेसको ठहर छ । जसले बचाउन खोज्छ त्यो पार्टी वा व्यक्ति हो त्यो उजागर भएर जान्छ, यो गम्भीर विषय छ ।’

उनले गृहमन्त्री लामिछानेले आफू सहकारीमा संलग्न नरहेको बताइरहेको उल्लेख गर्दै भने, ‘त्यसो भए गृह मन्त्रालय छाडेर अर्को मन्त्रालयमा जानुस् न केही समय । प्रहरीलाई अनुसन्धान गर्न दिनुस् । हामीले तपाईंको राजीनामा पनि मागेको छैन ।’ गृहमन्त्री लामिछानेले मिडियालाई तर्साउन खोजेको पनि उनको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७