सिरोहिया भेट्न पुगेका निधिले भने–आरोप निराधार र त्रुटिपूर्ण छ


१० जेष्ठ २०८१, बिहीबार
nidhi 1

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग भेट गरेका छन् । नागरिकता कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियासँग बिहीबार नेता निधिले भेटघाट गरेका हुन् । बिहीबार जनकपुरधाम आइपुगेका निधिले सिरोहियालाई भेट्न विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । भेटपछि उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताए ।

उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने बताएका छन् ।
अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको उनले बताए । उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली काँग्रेस र सबै नेपालीहरू रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको विरुद्धमा कांग्रेस रहेको बताए । सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने उनको भनाइ छ । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको बताए।

उनले भने, ‘सरकारले कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको छ । उहाँलाई जनकपुरमै ल्याइएको छ । उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई नै भेट्न आएको हुँ, उहाँको घर मेरै अगाडि छ । उहाँप्रति ऐक्यबद्धता प्रकट गर्न आएको छु । हामी कैलाश सिरोहियाको साथमा छौं । कैलाश सिरोहियाको पक्राउको विरुद्धमा छौं । यो प्रतिशोधपूर्ण पक्राउको सरकारले रिहाइ गर्नुपर्छ ।’

उनले भने, ‘यस्तो त होइन, दुई वटा नागरिकता केसमा बदर नै भइसकेको छ । अहिले गृहमन्त्री जो हुनुहुन्छ, उहाँलाई बदर गरियो । कैलाश सिरोहियालाई अनावश्यक रुपमा गिरफ्तारी गरिएको छ । उहाँमाथि जुन आरोप छ, त्यो आरोप निराधार र त्रुटिपूर्ण छन् । कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ । कीर्ते होइन । यो सबैको सरोकारको विषय हो । रवि लामिछानेको सहकारी ठगीको आरोपमा छानबिन समिति बनाउन हामीले भनेका छौं । सरकार आफैले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुभएको छ । त्यसको विरुद्धमा शुक्रवार प्रदर्शन गर्दैछौं । जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म संसदको अरु कामहरू अघि बढ्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७