सदनको अवरोध अन्त्यका लागि नेकपा एसले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने


१० जेष्ठ २०८१, बिहीबार
samajbadi
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज (बिहीबार) बसेको ८२ औं सचिवालय बैठकले प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायतसँग छलफल गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीहरूको बचत हिनामिना, दुरूपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने अडान राखेको छ । कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेकै संलग्नता रहेको भन्दै छानबिनको दायरामा ल्याउन माग गर्दै आएको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसके पनि कार्यादेश टुंगो लाग्न सकेको छैन । कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्ने भन्नेमै विवाद छ । कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठक आज पनि सिंहदरबारमा जारी छ ।

संसदीय समिति नबनाउँदासम्म सदनको कामकारबाही अगाडि बढ्न नसक्ने भन्दै कांग्रेसले संसद अवरूद्ध तुल्याउँदै आएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन र सडकबाट सकारलाई दबाब दिने तयारी गरेको छ । बुधबार पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक राखेर सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

यस्तै एकीकृत समाजवादीले सदन अवरोधको गाँठो फुकाउन पहल गर्ने निर्णय लिएको हो । एकीकृत समाजवादीले १०औं महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ । सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने पनि बताइएको छ । एकीकृत समाजवादीको दशौं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७