रवि लक्षित धनराजको भाषण : राजनीतिमा कोही भगवान हुँदैन

‘राजनीतिक प्रवृत्ति खराब भए पनि व्यवस्था खराब छैन’


१० जेष्ठ २०८१, बिहीबार
dhanraj garung

मकवानपुर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा कसैलाई भगवान मान्न नसक्ने बताएका छन् । आज (बिहीबार) हेटौंडामा आयोजित प्रजातान्त्रिक विचार समाज मकवानपुरको स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै गुरुङले राजनीतिमा भगवान मानेर आँखा चिम्लेर विश्वास गर्न नसकिने टिप्पणी गरेका हुन् ।

गुरुङले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेतर्फ इंकित गर्दै गणतन्त्रमा कसैलाई भगवान मन्दिरमा हुने तर राजनीतिमा नहुने बताएका हुन् । ‘सहकारीको अर्बौं रकम हिनामिना गरेर गरिब जनतालाई रुवाउनेलाई कसरी भगवान भन्न मिल्छ ?’ उनले भने, ‘दुई-दुई वटा नागरिकता, पासपोर्ट राख्ने र सहकारीमार्फत जनतालाई ठग्नेहरु नेता हुनै सक्दैनन् ।’

उपसभापति गुरुङले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पति छानबिनका लागि संसदमा प्रस्ताव दर्ता गराएको समेत बताएका छन् । देशमा भ्रष्टाचारको खेती मौलाएको र यसलाई छानबिन गर्न कांग्रेसले संसदमा प्रस्ताव दर्ता गराएको बताए ।
‘भ्रष्टचार काण्डमा मुछिएकाहरुलाई राजनीतिक दलको आँखाले हेर्न हुँदैन,’ उनले भने, ‘राजनीतिक दल नहेरी भ्रष्टचारको काण्डसँग जोडिएका जुनसुकै व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ । कांग्रेस सुशासन र भ्रष्टाचारविरुद्धको मिसनमा छ ।’

उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भए पनि व्यवस्था खराब नभएको बताएका छन् । उनले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राखे । उनले भ्रष्टाचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताए । ‘कांग्रेसले भ्रष्टाचारीविरुद्ध आवाज उठाउँदै आएको छ। त्यसको सुरुवात हामी आफैँबाट गर्न आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे । समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, सङघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताए । समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले बौद्धिक व्यक्तित्व रहेको समाजले देशमा संकट छाएको बेला उल्लेख्य भूमिका खेल्दै आएको भन्दै त्यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७