यस वर्ष पनि बर्खामा मेलम्चीको पानी काठमाडौँमा नआउने


१० जेष्ठ २०८१, बिहीबार
Melamchi 1

काठमाडौं । यो वर्ष पनि बर्खामा काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी खान नपाउने भएका छन् । पानी ल्याउन मेलम्ची खोलाको बाँध क्षेत्रमा बाढी रोक्ने कुनै पनि पूर्वाधार अहिलेसम्म नबनाउँदा यस वर्ष पनि बर्खामा मेलम्चीको पानी काठमाडौँमा नआउने भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठूलो बर्षा हुना साथै पानीमा लेदो आउने र लेदोले सुरुङ मार्गमा असर पार्ने भएकाले बर्खामा पानी ल्याउन बन्द गरिनेछ । उनका अनुसार सुरुङ मार्गमा बाढी रोक्ने पूर्वाधार बनिनसकेकाले लेदोसहितको बाढी आउने बित्तिकै सुरुङमा असर पार्ने हुँदा पानी पथान्तर गरिने छैन ।

वर्षामा दुई महिना पानी उपत्यका नआउने उनको भनाइ छ । गत वर्ष बाढीले गरेको हेडवर्क्स अहिलेसम्म नबनेकाले बर्खामा पानी उपत्यका ल्याउन नसकिने उनी बताउँछन् । सामान्यतया नेपालमा जुन ८ (जेठ २८ गते) मनसुन शुरु हुन्छ । यसवर्ष मौसम विज्ञान विभागले मनसुन शुरु हुने मिति बताइसकेको छैन । तर ठूलो पानी पर्ना साथै सुरुङ बन्द गर्ने तयारी अवस्थामा रहेको कार्यकारी निर्देशक लामिछानेले बताए ।

अघिल्लो वर्ष असार ८ गते काठमाडौँमा पानी ल्याउन बन्द गरिएको भए पनि पानी ल्याउन भने ८ महिनापछि माघ १ गते मात्र उपत्यकामा मेलम्चीको पानी वितरण थालिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउँछ । मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरुङको मुखमा क्षति गरेको थियो ।

उनका अनुसार सहायक सुरूङ सफा गर्न कठिन भएकाले यसपटक सुरुङ सुरक्षाका लागि मनसुन शुरु हुने बित्तिकै पानी पथान्तर रोकिनेछ । गत वर्ष बर्खामा सुरुङमा बालुवा पसेकाले सफा गर्न कठिन भएको थियो । २०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले कतिपय संरचना भत्काएपछि बर्खामा मेलम्चीको पानी काठमाडौँ ल्याउन समस्या देखिएको हो ।

मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपैयाँको लागतमा गत माघमा अस्थायी तवरमा पानी काठमाडौँ ल्याएको थियो । मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एशियाली विकास बैङ्क (एडिबी) ले अम्बाथानमा रहेको हेडवर्क्सलाई अन्यत्र सार्न सुझाएको भए पनि आयोजनाले बेवास्ता गर्दै आएको छ । त्यहाँ हेडवर्क्स सार्दा करिब ४ अर्ब रुपियाँ खर्च हुने अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७