संसद बैठकमा ढिलाई, कुर्दै सभामुख


११ जेष्ठ २०८१, शुक्रबार
devra

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक सकिन ढिला हुँदा संसद वैठक अझै सुरु हुन सकेको छैन । ८ बजे बोलाइएको कार्यदलको बैठक निर्धारित समयभन्दा ढिलो गरी सुरु हुँदा संसद बैठक पनि प्रभावित बनेको हो ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लािग तय गरिएको थियो । तर, आजको बैठकमा पनि सहमति हुन सकेन भने प्रमुख प्रतिपक्षी कांग्रेसले आजको बैठक पनि अवरोध गर्ने यसअघि नै चेतावनी दिइसकेको छ । खासगरी संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद देखिएको छ । प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन ।

छानबिन कार्यविधिमा लामिछानेको नाम राखिए उनले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ । उनले राजीनामा दिए सरकार अप्ठेरोमा पर्ने सम्भावना छ । त्यसैले सत्ता पक्ष कांग्रेसको मागमा सहमत हुन नसकेको हो । बैठक निष्कर्षमा नपुग्दासम्म प्रतिनिधि सभाको बैठक अगाडि बढाउन सभामुख देवराज घिमिरेलाई गाह्रो भइरहेको हो । उनी आफ्नो कार्यकक्षमा दुवै बैठकको निर्णयको पर्खाइमा बसिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७