चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ


११ जेष्ठ २०८१, शुक्रबार
chitwan nikunja

चितवन । लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसे मैदान सुक्खा हुन थालेपछि डिपबोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ ।

निकुञ्जको पश्चिम क्षेत्र सुकीभारसँगै अन्य क्षेत्रमा समेत पानीको सतह अघिल्ला वर्षको तुलनामा घट्दै गएपछि सिमसार र घाँसे मैदान क्षेत्रमा पानीको अभाव देखिएको हो। पानीको अभाव हुँदै गएपछि निकुञ्जले सो क्षेत्रमा पर्याप्त पानी पुर्‍याउनका लागि डिपबोरिङ गरी पानीको पूर्ति गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले भने, ‘नारायणी नदीको पश्चिम भँगालो नवलपारसीको सुकिभार र भरतपुरको देवनगर क्षेत्रमा डिपबोरिङ गरिएको हो ।’

सिमसार क्षेत्रमा पानीको अभाव भएसँगै वन्यजन्तु पानी र आहारा खोज्न बस्ती पस्न थाल्ने हुँदा बस्ती पस्नेक्रम रोक्नका लागि डिपबोरिङमार्फत सिँचाइको व्यवस्था गरिएको हो। सुक्खा क्षेत्र सिँचाइ भएपछि वन्यजन्तु निकुञ्जमै भुल्ने उनले बताए । उनका अनुसार घाँसे मैदान, सिमसार र पोखरी रहेका तीन क्षेत्रमा पानीका लागि डिपबोरिङ गरिएको हो । निकुञ्जका भिम्ले घाँसे मैदान, सुकीभार घाँसेमैदान र भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा डिपबोरिङ गरिएको हो। भिम्ले र देवनगरमा नयाँ बोरिङ जडान गरिएको हो भने सुकीभार क्षेत्रमा बिग्रिएको बोरिङ मर्मत गरिएको उनले जानकारी दिए ।

सुकीभार क्षेत्रमा वन्यजन्तुको उपस्थिति बढाउनका लागि सिमसार, घाँसे मैदान र पोखरी भएका क्षेत्रमा डिपबोरिङ गरी पानीको व्यवस्था गर्दा यसले घाँसे मैदानमा सिँचाइ, सिमसार क्षेत्रमा पानीको पर्याप्तता र पोखरीमा नियमित पानी रहन सहज हुने उनले जानकारी दिए । हाल नारायणी नदीको पश्चिम भँगालो क्षेत्रमा पर्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीको सतह घट्दै गएकाले वन्यजन्तु बस्ती पस्ने जोखिम हुन नदिन डिपबोरिङको पानी महत्वपूर्ण हुने उनको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७