संघीयता विकृतिको पर्याय बन्यो : अध्यक्ष लिङदेन


११ जेष्ठ २०८१, शुक्रबार
Rajendra lingden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको टिप्पणी गरेका छन् ।

शुक्रबदद्धारबाट शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिलाई तलबभत्ता खुवाएर पाल्न नसक्ने बताए । उनले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरूबीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नवीन समझदारी कायम हुन आवश्यक रहेको बताए ।

उनले मुलुकलाई दीर्घकालीन अप्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभई आर्थिक हिसाबले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको उल्लेख गरे । अध्यक्ष लिङदेनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनीयता कमजोर बनेको बताए ।

उनले सत्ता पक्ष र प्रमुख दलहरूको क्रियाकलापका कारण बिग्रिने सम्बन्ध र देशले भोग्नुपर्ने क्षति सम्बन्धित दलहरूले मात्र नभई सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभई समान हुनुपर्ने बताए । वैदेशिक सम्बन्धमा दल र सत्ता नभई केन्द्रमा देश हुनुपर्ने बताए ।

लिङदेनले भने, ‘नेपाल जस्तो जनसंख्या र भूगोल भएको हिसाबले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै जनप्रतिनिधिलाई तलबभत्ता ख्वाएर पाल्न सक्दैन । मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरूबीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नवीन समझदारी कायम गरी प्रदेश तहको खारेजी मात्र नभई प्रतिनिधि सभा तथा स्थानीय तहको समेत जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्छ । प्रदेश राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने ठाउँ बनेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७