विद्यालय भवन निर्माणमा अनियमितता, प्रअसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


११ जेष्ठ २०८१, शुक्रबार
Akhtiyar

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका–१ स्थित कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोही गाउँपालिकाका वडाध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, सिभिल इन्जिनियर माधवकुमार भट्ट, असिस्टेन्ट सवइन्जिनियर हिक्मत प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य वीरजन भण्डारी, समितिको भूपू अध्यक्ष सन्तोष बुढा र विद्यालयका लेखापाल विशाल भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मुद्दा चलाइएका व्यक्तिउपर विद्यालय व्यवस्थापन समितिसँग मिलेमतो गरी, निर्धारित मापदण्ड र शर्त विपरीत निर्माण कार्य गरी गराई इस्टिमेटअनुसार काम नै नभएको योजनामा काम गरेभन्दा आठ लाख ५१ हजार तीन सय ९२ रुपैयाँ ६९ पैसा बढी रकम भुक्तानी गरेको आरोप छ ।

‘आफूलाई गैरकानूनी लाभ र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको देखिएपछि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ को खण्ड ग र ङ बमोजिमको कसुरको मागदाबी लिइएको हो’, घिमिरेले भने, ‘कसुरका आधारमा फरक–फरक मागदाबी लिइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७