कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउबारे जवाफ

‘सुप्रिम, स्वर्णलक्ष्मी सहकारीको छानबिन गरे गृहमन्त्रीको संलग्नता पुष्टि हुन्छ’


११ जेष्ठ २०८१, शुक्रबार
Ramesh Lekhak

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउको बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ । आज दिउँसो बालुवाटारमा बसेको तीन दलको बैठकमा कांग्रेसले सिरोहिया पक्राउ प्रकरणमा ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

त्यस्तै बैठकमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ । लेखकले गृहमन्त्रीले कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताएका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।’

प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितको कार्यादेशको विषय सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारी प्रकरणमा मुछिएका उल्लेख गर्दै लेखकले ‘मूल विषय’ सम्बोधन हुने गरी समितिको कार्यादेश टुंग्याउनु पर्ने बताए ।

‘सहकारीको नाम राख्ने वा व्यक्तिको नाम राख्ने भन्दा पनि मूलभूत रुपले जे विषय उठेको छ त्यसलाई सम्बोधन गर्ने हो,’ उनले भने, ‘विभिन्न सहकारीबाट अपचलन भएको रकम कुन सहकारीबाट कहाँ गयो भन्ने मुद्दा उठिरहेको छ, माननीय गृहमन्त्रीजीको नाम पनि जोडिएको छ । उहाँको संलग्नताको विषयलाई नै सम्बोधन गर्ने सवाल हो । कुन भाषा शैलीमा गर्ने भन्ने कुरा बसेर मिलाउँदा हुने भयो ।’ लेखकले गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारीहरूको छानबिन गरे उनको संलग्नता पुष्टि हुने दावी गरे ।

उनले सुप्रिम, स्वर्णलक्ष्मीलगायतका सहकारीबाट कुन कम्पनीमा पैसा गएको छ भन्नेबारे छानबिन हुनुपर्ने बताए । ‘व्यक्तिको वा सहकारीको नाम राख्नेभन्दा मूलभूत कुरा सहकारीमा लाखौंको अर्बौं बचत अपचलन भएको छ, रकम दुरुपयोग र ठगी भएको छ । ती रकम कतिपय प्राइभेट कम्पनीमा गएको छ, स्वर्णिम, स्वर्णलक्ष्मी जस्ता सहकारीबट गोर्खा मिडिया नेटर्वकमा पैसा गएको छ । कुन–कुन सहकारीबाट कहाँ कहाँ गएको छ छानबिन गर्नुपर्छ’, उनले भने । लामिछानेको नाम अनिवार्य भएको हो भन्ने प्रश्नमा उनले भने, ‘अपचलन भएको पैसा कुन सहकारीबाट कहाँ गयो ? त्यसमा गृहमन्त्रीको संलग्नता देखिएको कुरा सम्बोधन हुनुपर्छ । कुन भाषा, शैलीमा गर्ने भन्ने भाषा शैली मिलाउनु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७