संसदमा हुने बहस मर्यादाहीन हुँदै गएको छ : पूर्व सभामुख सापकोटा


१२ जेष्ठ २०८१, शनिबार
Agni Sapkota
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमी प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा हुने बहस, छलफल, शब्द चयन स्तरहीन र मर्यादाहीन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसद्मा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको उनको भनाइ छ । उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताए ।

पूर्व सभामुख सापकोटाले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसद्मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताएका छन् । उनले भने, ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ । भर्खरै मात्र हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री ज्युले विश्वासको मत लिनु भएको छ । मलाई भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठूलो समस्या छैन । तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । सकारात्मक वातावरण बनिरहेको भनिएको छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ । तर एकातिर अराजकताको स्थिति र अर्कातिर प्रियतावादको रुझान, अस्तव्यस्तताको स्थिति देखिन्छ । संसद् कुनै पनि देशको रुपमा फरक–फरक हुन्छन् । संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो । तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् ।’

उनले संसद् भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को नभएको पनि बताएका छन् । ‘संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ । ओझ र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओझ र गरिमा नभइ आफ्नो साख गिराउँदैछ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७