गृहमन्त्रीको नाममा अड्केको कार्यदल टीओआरमा सहमति जुटाउन फेरि जुट्यो

वैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी


१२ जेष्ठ २०८१, शनिबार
Sahakari karyadal

काठमाडौं । सहकारीको रकम हिनामिना छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलका सदस्य फेरि जुटेका छन् । शनिबार दिउँसो ३ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने भनिएको बैठक केहीबेर ढिलोगरी सुरु भएको छ ।

बैठकमा कानूनमन्त्री समेत रहेका कार्यदलका संयोजक पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका नेताद्वय जीवन परियार र ज्ञानेन्द्र कार्की, रास्वपाका नेता शिशिर खनाल र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । कार्यदलको बैठकमा पाण्डे भने पहिलो पटक सहभागी भएका हुन् ।

बैठकमा टीओआबारे सहमतिका लागि थप प्रयास हुने बताइएको छ । पोखराको सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम राख्नुपर्ने अडान नेपाली कांग्रेस लचक भएको सत्तारुढ दलका नेताहरुले शुक्रबार बताएका थिए । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, गृहमन्त्री लामिछानेको नाम जोडिएको सहकारीको छानबिन गर्न नाम राख्ने विषयमा समस्या छैन । तर, रविको नाम नराखे ‘गोरखा मिडिया ग्रुपका प्रबन्ध निर्देशक’ राख्नुपर्ने कांग्रेसको माग छ ।

उनले भने, ‘हामीलाई सहकारी संस्थाकै छानबिन गर्ने भएकाले सहकारीको नाम राख्न समस्या भएन । तर, उहाँहरूले प्रबन्ध निर्देशकसमेत उल्लेख गर्नुपर्छ भन्दै हुनुहन्छ, हेरौँ उहाँहरू के गर्नु हुन्छ ।’ शुक्रबारको बैठकपछि साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् खुलाउनेबारे शीर्ष नेताहरूबीच छलफल भएको थिया े। बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र कार्यादेशको भाषाबारे शीर्ष नेताहरू बसेर सहमति गरिने बताएका थिए ।

नेपाली कांग्रेसका सांसद् एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने ‘विन–विन’को वातावरण निर्माण गर्नेगरी सहमतिको प्रयास भएको बताए । कार्यदलका संयोजक एवं कानुनमन्त्री पदम गिरीले शनिबार गृहजिल्ला पर्वतमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कुनै व्यक्तिको नाम किटान गरेर समिति बनाउन नसकिने दाबी गरेका थिए ।

आज बेलुकीसम्म पनि सहमति नजुटे संसद्मा पेलेरै अघि बढ्ने योजनामा सत्तारुढ दल छन् । सरकारले जेठ १५ गते बजेट ल्याउनै पर्नेछ । त्यसअघि संसद् खुलाएर वातावरण सहज बनाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरे समेत लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७