कांग्रेसको ‘नसिब’ मा ८४ सम्मै प्रतिपक्षमा बस्न लेखेको छ : विष्णु पौडेल


१२ जेष्ठ २०८१, शनिबार
bi

चितवन । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारको गठबन्धन आगामी चुनावसम्मै कायम रहने दावी गरेका छन् । शनिबारदेखि भरतपुरमा सुरू भएको एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले भने, ‘प्रतिपक्षमा बसेर चुनावमा भाग लिएको अनुभव कांग्रेसलाई छैन । तर आउँदो ८४ सालको चुनाव हुँदा कांग्रेस प्रतिपक्षमै हुन्छ । किनकि अहिलेको गठबन्धन सरकार चुनावसम्मै जान्छ ।’ उपाध्यक्ष पौडेलले कांग्रेसको नसिबमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताएका छन् ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई चयन गर्दै पहिले बनाएको गठबन्धन राष्ट्रपति चुनावपछि भत्काएर कांग्रेसले आफू दिग्विजय भएँ भन्ने सोचेको र अहिले नयाँ गठबन्धन बनेपछि कांग्रेस भयानक बेचैनी र छटपटिमा रहेको पौडेलले आरोप लगाए । ‘त्यसो त अहिले पनि कांग्रेस नयाँ सहयात्रा भंग गर्ने प्रयत्नमा छ । तर यो सहयात्रा ८४ सालको चुनावसम्मै कायम रहन्छ । यो थाहा पाएर कांग्रेस संसद्मा ताण्डव नृत्य मच्च्याइरहेको छ । संसद्को र सभामुखको कुनै मर्यादा गरेको छैन,’ पौडेलले भने ।

उनले कांग्रेसले अवरूद्ध गरेको संसद् खुलाउन संवाद गर्ने तर सहमतिमा नआए व्यवधान पन्छ्याएर अगाडि बढ्ने बताए । ‘यो गठबन्धन रहे आफ्नो भविष्य छैन भन्ने कुरा कांग्रेसले बुझेको छ र नै अनेक प्रपञ्चमा छ,’ पौडेलले भने । सोमबारसम्म चल्ने चितवन एमालेको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने छ । एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुंगनाका अनुसार जिल्ला अधिवेशनमा ७ सय ६१ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले १ सय २० जनाको कार्यसमिति गठन गर्ने छ । नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि हालका अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमल पाठकको नाम चर्चामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७