‘टीओआर’ को विषय टुंग्याउन शीर्ष नेताहरु बालुवाटारमा


१२ जेष्ठ २०८१, शनिबार
new shirsha neta

काठमाडौं । सहकारीको रकम अपचलनमा नेपाली कांग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने कार्यदलको बैठक सुरु भएको छ । संसदीय समितिको कार्यादेश (टीओआर) मा कार्यदलले जुटाएको सहमतिबारे छलफल गर्न अहिले शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउने गरी छलफल भएको थियो । सत्ता र प्रतिपक्षी दुवैतिरका नेताहरू लगभग सहमति नजिक भएको जानकारी गराउँदै आफूहरू त्यसबारे जानकारी गराउन बालुवाटार जान लागेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताएका थिए ।

कांग्रेसले लगातार संसद् अवरोध गर्दै आएपछि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमदेखि बजेटसम्म प्रभावित भएको छ । सरकारले गत जेठ १ गते संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुन सकेको छैन । कार्यदलका सदस्यहरुले शनिबारको बैठकबाट सहमति हुने दाबी गरेका छन् । संसदीय समिति गठन र संकटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ ।

तर गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली कांग्रेसले गर्नैपर्ने अडान राखेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७