संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्याउन प्रचण्ड, ओली र देउवा बस्दै


१३ जेष्ठ २०८१, आईतवार
prachanda kp deuwa

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकारलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक बस्दैछ । प्रमुख दलहरूको बैठक बिहान ९ बजे बस्ने तय भएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

अहिले बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बैठक बस्न लागेको उनले जानकारी दिए । ‘बिहान तीन जना नेता मात्रै बस्नु हुन्छ । सहमति हुने भयो र आवश्यक पर्‍यो भने कार्यदलका सदस्य (कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल) पनि बस्छौं । सहमति भएन भने सदन सुरू हुन्छ,’ उनले सुनाए ।

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग, ठगी छानबिन गर्न प्रमुख दलहरूबीच संसदीय समिति बनाउने सैद्धान्तिम सहमति बनेको छ । तर क्षेत्राधिकारमा कुरा मिल्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा रकम गएकाले त्यो संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नाम क्षेत्राधिकारमा तोक्नुपर्ने अडान राख्दै आएको छ ।

सत्तापक्षले सुप्रिम, सूर्यदर्शन लगायत सहकारीहरूको नाम अनुसूचीमा उल्लेख गरेर जानुपर्ने अडान राखेको छ । यसैमा कुरा मिलेको छैन । प्रमुख प्रतिपक्ष मिल्ने पक्षमा नदेखिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । ‘अहिलेसम्मको छलफल हेर्दा कांग्रेस मिल्ने पक्षमा नै देखिएको छैन,’ उनले भने । क्षेत्राधिकारको टुंगो लगाउन शनिबार बसेको कार्यदलको बैठकले सहमति गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७