सडक डिभिजनको प्रतिकारको चेतावनीपछि बालेनको प्रश्न : को डराएको छ तिमीहरूसँग ?


१३ जेष्ठ २०८१, आईतवार
Balen Raghubir 1

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सरकारसँग आफू नडराएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । आइतबार राति १०ः१७ बजे स्ट्याट्स लेख्दै बालेनले भनेका छन्, ‘अहिलेको सरकारले ज्यान लिन सक्छ रे ? लेउ न त, म के बार्गेनिङ गरेर बसेको छु र ? को डराएको छ तिमीहरूसँग ?’

मेयर बालेनले यो के सन्दर्भमा स्ट्याटस लेखेको खुलाएका छैनन् । तर यो स्ट्याटस महानगर र सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौँसँग सम्बन्धित रहेको सहजै बुझ्न सकिन्छ । किन कि शनिबार दिउँसो काठमाडौँ महानगरले सडक डिभिजन काठमाडौँको कार्यालय बाहिरको सडकमा धुलो थुपारिदिएको थियो । चक्रपथको कलंकी–महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण बेहोर्नुपरेको भन्दै महानगरको धुलो थुपारिदिएको हो ।

त्यसपछि सडक डिभिजन काठमाडौँले विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो । सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग भएको सडक डिभिजनको विज्ञप्तिमा उल्लेख छ ।

डिभिजन काठमाडौँले प्रतिकार गर्ने समेत विज्ञप्तिमार्फत चेतावनी दिएको छ । ‘सडक डिभिजन काठमाडौँको कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने’ विज्ञप्तिमा लेखिएको छ ’तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

‘आज मिति २०८१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको स्ट्याण्डर्ड चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ,’ सडक डिभिजनले भनेको छ ।

sada

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७