तीन महिनापछि देउवा भेट्न निवासमै पुगेका प्रधानमन्त्रीले ४० मिनेट के गरे कुराकानी ?

‘बजेटको अप्ठ्याराेलाई देखाएर सत्ता पक्ष गृहमन्त्रीलाई उम्काउने चलाखीमा देखिन्छ’


१३ जेष्ठ २०८१, आईतवार
prachanda deuwa

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फर्किएका छन् । बजेट ल्याउने दिन नजिकिँदा पनि संसद् खुल्ने संकेत नदेखिएपछि प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न बूढानीलकण्ठस्थित उनको निवासमा पुगेका थिए ।

नेकपा एमालेसँगको नयाँ गठबन्धन बनाएसँगै प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको दूरी बढेको थियो । झण्डै तीन महिनापछि प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेका हुन् । दुई नेताबीच ४० मिनेट भेटघाट भएको जनाइएको छ । सहकारी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको गृहकार्य, सदन खुलाउने प्रयास गर्न शीर्ष नेताको बैठक अघि प्रधानमन्त्रीले देउवासँग भेट गरेका हुन् ।

कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । यो प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै कांग्रेस उनीमाथि छानबिन हुनुपर्ने पक्षमा छ । तर सत्तापक्षले रविको नाम लिएर छानबिन समिति गठन गर्न नसकिने अडान लिँदै आएको छ । यी दुई अडानका बीचबाट सहमति खोज्ने प्रयत्न भए पछि अझै निकास निस्कन सकेको छैन ।

भेटवार्तापछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कुरा जहाँको त्यही रहेको जनाउ दिएका छन् । आज एमाले, कांग्रेस र माओवादीका तीन शीर्ष नेता बालुवाटारमा बिहान ९ बजे भेट्ने तय भएको थियो । तर, स्वास्थ्यको कारण देखाएर देउवाले असमर्थता व्यक्त गरे । उनले बरु आफ्नै निवासमा भेट्न बोलाएका थिए । उनको आग्रहमा प्रचण्ड बुढानिलकण्ठ गएका हुन् । ओली भने गएनन् ।

सुरुमा प्रचण्ड र देउवाको वान टु वान कुराकानी भएको थियो । त्यसपछि कांग्रेसका केही नेताहरु मिसिएका थिए । प्रचण्ड–देउवा भेट सहकारी छानविनको विषयमा नै केन्द्रीत भए पनि निष्कर्षमा नपुगेको परियारले बताएका छन् । भेटपछि उनले भने, ‘प्रधानमन्त्री अत्यन्तै गम्भीर देखिनु भएको छ । भरे साँझ वा भोलिसम्ममा सहमति निकालौं भन्ने उहाँको आग्रह थियो । तर, विषयवस्तुमा कुरा मिलेको छैन ।’

सत्ता पक्षले चलाखी गरेर गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजिरहेको परियारले आरोप लगाए । उनले बजेट पारित गर्नुपर्ने अप्ठ्यारो देखाएर गृहमन्त्रीलाई उम्काउने दाउमा सत्ता पक्ष देखिएको उनले संकेत गरे । उनले थपे, ‘हामीले रविजीको नाम नराख्दै गर्दा कस्तो प्रस्ताव आउँछ त सत्ता पक्षबाट भनेर पर्खिरहेको अवस्था हो । तर उहाँहरु ठीक ठाउँमा हुनु हुन्न । छानविन गर्ने ठाउँमा नै आइपुग्नु भएको छैन । थप छलफल गरेर अगाडि बढ्ने कुरा भएको छ ।’

परियारका अनुसार प्रधानमन्त्री प्रचण्डले गोर्खा मिडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि रविको नाम नलेख्दा पनि हुँदैन भनेर देउवासँग प्रस्ताव गरेका थिए । तर, आफूहरु यसमा तयार नरहेको उनले बताए । संस्थाकै नाम किटानी भइसकेपछि त्यसमार्फत व्यक्तिसम्म पुग्न सकिँदैन र ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘उहाँहरु यति चलाखिपूर्ण ढंगले कम्पनीले पैसा लिँदा कम्पनी मात्रै जवाफदेही हुने हो, सञ्चालक मात्रै जवाफदेही हुन्छ भन्ने कुरा गर्नु भएको छ । तर यसबाट समाधान निस्किदैन र उहाँहरु उम्किने बाटोतिर जानु भएको छ भन्ने हाम्रो भनाइ हो ।’

यसैबीच कांग्रेसले आज काठमाडौंमा सहकारी प्रकरणको छानबिन, गृहमन्त्रीको गैरजिम्मेवारी अभिव्यक्ति, सभामुखले संसदीय परम्परालाई लत्याएकोजस्ता विषयमा ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गर्न लागेको छ । यता प्रधानमन्त्रीलाई भने प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर मंगलबार बजेट ल्याउनै पर्ने दबाब छ । यसअघि संसदमा सीमित भएको प्रतिपक्षी कांग्रेस आजदेखि सडक संघर्षमै जाँदैछ ।

यस्तोमा सत्ता पक्षलाई नीति तथा कार्यक्रम पारितलगायत सबै संसदीय प्रक्रिया अगाडि बढाउन चुनौती छ । यसै मेसोमा छानबिनका लागि गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन आजै ठूला दलका शीर्ष नेताको बैठक बस्दैछ । यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति देउवालाई घरमै पुगेर भेट्नु पर्ने अवस्था सिर्जना भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७