सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण


१३ जेष्ठ २०८१, आईतवार
prachanda madav

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएको छ । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराइएको उपाध्यक्ष हमालले जानकारी दिए । ‘सचिवालय बैठकले प्रधानमन्त्रीलाई गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराएका हौं’, उनले भने ।

भेटमा अध्यक्ष नेपालले संसद्मा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहल आवश्यक रहेको बताए । सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने विषयमा पार्टीको तर्फबाट सहयोग रहने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका छन् । ‘कुराकानी भएकै छ । भर्खरै मात्रै देउवाजीसँग भेटघाट भएको छ । गतिरोध अन्त्यका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्छाैं’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उपाध्यक्ष हमालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७