रवि लक्षित रामकुमारी झाँक्रीको टिप्पणी : सहकारीको रकम अपचलन गरेर अवस्था बदलिँदैन


१३ जेष्ठ २०८१, आईतवार
ramkumari ghakri
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने टिप्पणी गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्बौं रुपैयाँ सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने बताएकी हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउँदै उनले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताइन् । सचिव झाँक्रीले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको बताइन् । उनले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझ्न नसकिने बताइन् ।

‘मान्छेहरुमाथि कहिलेकाहीँ पावरमा पावर अफ एक्सरसाइज गर्ने मान्छेहरूमाथि अनाधिकृत लाञ्छना पनि लागेका हुनसक्छन् । तर छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने क्लिन चिट पाउने जिम्मेवारी स्वयं व्यक्तिको हुन्छ । त्यसकारण काउन्टर आरोप–प्रत्यारोप होइन । मैले मिडिया ट्रायल भएको देखेँ, कान्तिपुर मिडिया ग्रुपको अध्यक्षमाथिको धरपकड कुरा । अध्यक्षको धरपकडको विषय र उहाँको संलग्नताको अवस्था र अपराधको विषय आजको फाइनान्सियल क्राइससँग र यसको तुलनासँग मात्र यो कति फरक हो । मिडियाले निरन्तर समाचार लेखेबापत गरिएको साँच्चै अपराधी, दोषीलाई कारबाही गर्न लिएको स्टेप हो कि यो बदला हो ? सहज अनुमान छैन ?’

उनले भनिन्, ‘मिडिया चलाउँदैमा वा कोही पावरमा हुँदैमा उसले गरेको कसुरको सजायबाट ऊ मुक्त हुन्छ भन्ने होइन । तर कसुर अनुसारको सजाय र छानबिनको लागि मान्छेलाई बदलाको हिसावले राज्यले हेर्छ भने राज्यसँग त व्यक्ति लड्न सक्दैन नि । बदलाको हिसाबले चालिएको स्टेप तर्साउने तरिका हो । त्यसको पक्षमा हामी छैनौँ । व्यवस्था ठिक छ, अवस्था बदल्ने भन्नेछ । अवस्था बदल्न पुँजी चाहिन्छ । ठगेर खाएर पुँजी हुँदैन । अर्बौं सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ । मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७