सार्वजनिक संस्थानहरुको नाफा एक खर्ब ४ अर्बले बढ्यो : २६ नाफामा, १५ वटा घाटामा


१३ जेष्ठ २०८१, आईतवार
nepal oil corporation nigam 2

काठमाडौं । सार्वजनिक संस्थानहरुको नाफा एक खर्ब ४ अर्बले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा संस्थानको कूल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा १४.८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख पुगेको छ । यो तथ्यांक सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८१ मा आएको हो । आर्थिक वर्ष २०७९/८० मा अस्तित्वमा रहेका मध्ये २६ वटा संस्थानले नाफा आर्जन गरेका छन् भने १५ वटा संस्थान घाटामा रहेका छन् । ३ वटा संस्थानको कारोबार शून्य रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा ३०४६.२० प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा ४८ अर्ब ५१ करोड ७५ लाख कायम भएको छ । यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आ.व.२०७८/७९ मा ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेको थियो भने आव २०७९/८० मा ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ । भने, नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३.७९ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० मा शेयरधनी कोष (नेटवर्थ) गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधि ३२ वटा संस्थानको शेयरधनी कोष धनात्मक र बाँकी १० वटाको शेयरधनीकोष ऋणात्मक रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक संस्थानमा ३२.१८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको संख्या ४४ वटा छन् । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन् । स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् ।

२०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थानमध्ये कम्पनी ऐन बमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐनबमोजिम स्थापना भएका ७ वटा, सञ्चार संस्थान ऐन बमोजिम स्थापना भएका २ वटा, सहकारी ऐन बमोजिम स्थापना भएका १ वटा र संस्थान ऐन बमोजिम स्थापना भएको १ वटा संस्थान रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७