आठ महिनामा २८ किलोमिटर नयाँ सडक, १,६४० हेक्टर जमिनमा थपियो सिँचाइ सुविधा


१३ जेष्ठ २०८१, आईतवार
road myagdi

काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो आठ महिनामा संघीय सरकारले २८ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । चालु आवको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे र १९० किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति भएको अर्थ मन्त्रालयले आज (आइतबार) सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ । २०८० फागुनसम्म संघीय सरकारबाट निर्माण भएको ३४ हजार २ सय ६७ किलोमिटर सडकमध्ये कालोपत्रे ५३.२ प्रतिशत, ग्राभेल २२.५ प्रतिशत र कच्ची सडक २४.३ प्रतिशत रहेको छ ।

फागुनसम्म १८ हजार २४१ किलोमिटर कालोपत्रे, ७ हजार ६९७ किलोमिटर ग्राभेल र ८ हजार ३२९ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ । २०८० असारसम्म सडकको कुल लम्बाइ ३४ हजार २३९ किलोमिटर थियो ।

थपियो १,६४० हेक्टर जमिनमा सिँचाइ सुविधा
चालु आर्थिक वर्ष १ हजार ६ सय ४० हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुगेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार फागुनसम्ममा सो क्षेत्रफलमा सिँचाइ सुविधा पुगेर हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।

संघीय आयोजनाहरूबाट २०८० असार मसान्तसम्म कुल १५ लाख ५५ हजार ५ सय ८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म सतह तर्फ ६२० हेक्टर, लिफ्टतर्फ २७० हेक्टर भूमिगततर्फ ७०० हेक्टर र जलाशयतर्फ ५० हेक्टर गरी थप १ हजार ६ सय ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यस समेत गरी हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा सतह सिँचाइ पुगेको छ भने ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ । २०७९ फागुनसम्म कुल सिँचाइयोग्य जमिन १७ लाख ६० हजार हेक्टरमध्ये ८८.५ प्रतिशत र कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टर मध्ये ५९.० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रणतर्फ २०८० फागुनसम्म १ हजार ४ सय १२ किलोमिटर तटबन्ध निर्माण भई १२ हजार ९ सय ८६ हेक्टर जग्गा उकास भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म ४७.५२ किलोमिटर तटबन्ध निर्माण तथा २०० हेक्टर जग्गा उकास गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा ७६.२५ किलोमिटर तटबन्ध निर्माण भई २३३.५८ हेक्टर जग्गा उकास गरिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र, नक्टाझिजबाट १३ डिप बोरिङ्ग प्रणाली मार्फत सिराहा, सर्लाही, बारा, उदयपुर, धनुषा, रुपन्देही र महोत्तरीमा गरी जम्मा ५२० हेक्टर क्षेत्रफलमा भूमिगत सिँचाइ विस्तार भएको थियो । चालु आर्थिक वर्ष भूमिगत सिँचाइ कार्यक्रम अन्तर्गत ६ डिप बोरिङ्ग निर्माण भइरहेको छ । यसबाट थप ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार हुने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७