वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख नाघ्यो, यो वर्ष दुई लाख ८५ जना विदेशिए

चालु आर्थिक वर्षमा ९ लाख ८० हजार बढी विद्युतीय राहदानी जारी


१३ जेष्ठ २०८१, आईतवार
airport 7

काठमाडौं । तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको जनाएको छ । जसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत छन् ।

आज (आइतबार) सार्वजनिक आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको हो । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।

प्रतिवेदनको अनुसार चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार रहेको छ । जसमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देशलाई खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

चालु आर्थिक वर्षमा ९ लाख ८० हजार बढी विद्युतीय राहदानी जारी
चालु आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी भएको देखिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राहदानी लिनेको संख्या ९ लाख ८० हजार ६ सय ४१ थान देखिएको हो । गत आवमा १४ लाख ३५ हजार ६ सय ९९ जनाले विद्युतीय राहदानी लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७