८७ प्रतिशत कर्मचारीको सरुवा कानून विपरीत : महालेखा

मधेसमा सबैभन्दा बढी बेरुजु, अरु कुन प्रदेशको कति ?


१३ जेष्ठ २०८१, आईतवार
Beruju 2

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ८७ प्रतिशत कर्मचारी सरुवा कानूनविपरीत भइरहेको औंल्याएको छ । आज (आइतबार) सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदनमा १३ प्रतिशत मात्र कानूनी व्यवस्थाअनुसार भदौ महिनामा र बाँकी ८७ प्रतिशत अन्य महिनामा सरुवा भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९/८० मा राजपत्राङ्कित एक हजार ९५४ र राजपत्र अनङ्कित तथा श्रेणीविहीन १,३४७ जना कर्मचारीको सरुवा गरेको थियो । मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्नेमा वर्षभरि सरुवा गर्ने तथा काजमा खटाउने गरेको महालेखा परीक्षकले औंल्याएको छ ।

निजामती सेवा ऐन २०४९ अनुसार कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव समेत दिलाउन एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयको कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको छ । निजामती सेवा नियमावली २०५० को नियम ३६ ले सरुवाको समय तालिका र सरुवाका आधार निर्धारण गरेको छ ।

प्रतिवेदन अनुसार मन्त्रालयले २०७९/८० मा सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा १,३१५ कर्मचारीलाई खटाएको थियो, तर एउटै कर्मचारीलाई एकै वर्षमा दुईभन्दा बढी स्थानीय तहमा खटाएको र १९० स्थानीय तहमा निमित्तको रूपमा कामकाज गर्न खटाएको पाइएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको २०७९ चैत ३ गतेको बैठकबाट स्थानीय तहमा संघबाट खटाएका कर्मचारीलाई कम्तीमा एक वर्ष खटाएको स्थानीय तहमै रहनुपर्ने व्यवस्था मिलाउने निर्णय भएकोमा त्यसको पालना नभएको पनि महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ (४) मा कानूनबमोजिम प्रमुख प्रशासकीय अधिकृत नियुक्ति नभएसम्मको लागि सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाउने व्यवस्था छ ।

महालेखाले संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन नसक्नु दुःखद भएको जनाएको छ । संघीय निजामती सेवा विधेयक २०८० फागुन २१ गते संघीय संसदमा पेशमात्रै भएको छ । महालेखाले सातै प्रदेशले विद्यमान निजामती सेवा ऐन २०४९ का कतिपय प्रावधानसँग नमिल्ने गरी प्रदेश निजामती सेवा ऐन तर्जुमा गरी लागू गरेको पनि उल्लेख गरेको छ । ऐन जारी नहुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको भर्ना, छनोट, सरुवा, बढुवालगायत वृत्ति विकासका अवसरमा अस्पष्टता रहेको प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारी समायोजन ऐन २०७५ मा प्रदेश निजामती तथा स्थानीय सेवासम्बन्धी कानून बनाउँदा संघीय निजामती सेवासम्बन्धी कानूनका आधारभूत सिद्धान्त र मान्यतालाई आधारको रूपमा लिई प्रदेश वा स्थानीय तहको सेवाको गठनसम्बन्धी कानून बनाउने गरी मापदण्ड तोकेको छ । संविधानको धारा २८५ मा सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था रहेको छ । देशको प्रशासन सञ्चालन गर्न संघीय निजामती सेवा र आवश्यकताअनुसार अन्य संघीय सरकारी सेवाको गठन तथा सञ्चालन र सेवाका शर्त संघीय ऐनबमोजिम हुने उल्लेख छ ।

मधेसमा सबैभन्दा बढी बेरुजु, अरु कुन प्रदेशको कति ?

मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलललाई बुझाएको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार मधेस प्रदेशमा एक अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी मधेसमा ३.८७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै, पेस्की बाहेक बेरुजु प्रतिशत २.९३ रहेको प्रतिवेदनमा उल्लेख छ ।

मधेस प्रदेशका १४९ वटा कार्यालयको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । यस्तै, पेस्की बाहेक मधेसमा कुल १ अर्ब ४० करोड ५६ लाख ७४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, महालेखापरीक्षकको प्रतिवेदनअनुसार कोशी प्रदेशमा २.५० प्रतिशत, बागमतीमा १.१५ प्रतिशत, गण्डकीमा १.९५, लुम्बिनीमा १.९५, कर्णालीमा २.५९ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ०.९५ प्रतिशत बेरुजु रहेको छ ।

महालेखापरीक्षकको कार्यालयले ७ वटा प्रदेशको १ हजार ३८७ वटा कार्यालयको ३ खर्ब ६० अर्ब ८३ करोड ५६ लाख ८९ हजारको लेखापरीक्षण गर्दा ७ अर्ब ४० करोड ८९ लाख ३६ हजार अर्थात २.०५ प्रतिशत बेरुजु देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७