चितवनमा चार वटा गाडी एकै ठाउँमा ठोक्किँदा एकको मृत्यु, २३ जना घाइते


१४ जेष्ठ २०८१, सोमबार
Chitwan acc

चितवन । चितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चार वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । गए राति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाइते भएको र उनीहरुको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै बाटो दुवैतर्फ अवरोध भएकोमा राति साढे दुई बजेपछि एकतर्फी र अहिले बिहान साढे चार बजेपछि दुवैतर्फ बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७