संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै


१४ जेष्ठ २०८१, सोमबार
prachanda kp deuwa

काठमाडौं । सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक सोमबारलाई सारिएको थियो । कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल गर्न आज बिहान बालुवाटारमा बैठक बस्न लागेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुनेछन् । यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बस्न लागेको जानकारी दिए ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राखेको छ । सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध छ । सत्तापक्षले भने नाम उल्लेख गर्न नमानेपछि संसदीय छानबिन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । जसका कारण नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । यही माग गर्दै कांग्रेसले हिजो काठमाडौँमा विरोध प्रदर्शन समेत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७