चितवन दुर्घटना : एकको मृत्यु, प्रहरी जवानसहित २३ घाइते, पाँच गम्भिर (सूचीसहित)


१४ जेष्ठ २०८१, सोमबार
acci 1

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकमा चार वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मृतक अन्दाजी १६-१७ वर्षको किशोरको परिचय खुलेको छैन ।

घाइते २३ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन् । सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन् । उनी जिप्रका चितवनको नियन्त्रणमा छन् । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइतेहरूमा प्यूठानको नौबहिनी गाउँपालिका–७ का २८ वर्षीय सुधन केसी, प्यूठानको प्यूठान नगरपालिका–१० का ३६ वर्षीय निरज केसी, मालारानी गाउँपालिका–२ कि ३६ वर्षीया निर्मला भूसाल, गौमुखी गाउँपालिका–७ का २५ वर्षीय सुरज सुनार छन् । सुरज जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान रहेको डिएसपी रिजालले जानकारी दिए ।

त्यस्तै अर्घखाँचीको शितगंगा नगरपालिका–८ कि २९ वर्षीया पवित्रा दर्लामी, प्यूठानको झिमरूक नगरपालिका– ७ का २८ वर्षीय पुरन गिरी, प्यूठानको प्यूठान नगरपालिका–८ का २० वर्षीय समिर केएम, सारुमहारानी गाउँपालिका–४ का ३६ वर्षीय तारापति बुढाथोकी, ३५ वर्षीया मुनादेवी बुढाथोकी, ऐरावती गाउँपालिका–६ कि ५६ वर्षीय मनदेवी थापा, गाउँपालिका नखुलेको प्यूठानकै ६० वर्षीय पदम थापा घाइते छन् ।

प्यूठानकै प्यूठान नगरपालिका–१० का २१ वर्षीय सुशील केसी, प्यूठान नगरपालिका–४ कि १७ वर्षीय प्रतिभा भण्डारी, प्यूठान नगरपालिका–८ कि १८ वर्षीया सलिसा थापा, प्यूठान नगरपालिका–१ का ३८ वर्षीय प्रकाश केसी, प्यूठान नगरपालिका–८ का ५३ वर्षीया पार्वता केसी, नौबहिनी गाउँपालिका–३ का ३२ वर्षीय गौरव झाँक्री, गौमुखी गाउँपालिका–३ का २९ वर्षीय दीपक सुनार, प्यूठान नगरपालिका–८ का २५ वर्षीय सन्तोष केसी र अर्घखाँचीको सितगंगा नगरपालिका–८ का ४९ वर्षीय रामबहादुर दर्लामी घाइते छन् ।

गए राति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो ।

डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो । यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् । चार वटा गाडी ठोक्किँदा नारायणगढ–मुग्लिन सडक राति साढे २ बजेसम्म अवरूद्ध भएको थियो । त्यसपछि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड बिहानसम्म दुवैतर्फ सञ्चालनमा रहेको डिएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७